अपहरणकारीलाई गोली हानी अपहरित बालक शकुसल उद्दार

पर्सा, कार्तिक २० गते ।

अपहरणकारी पक्राउ गरी अपहरित बालकको शकुसल उद्दार गर्न जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी सफल भएको छ । मिति २०७६।०७।१० गते जिल्ला पर्सा बिरगंज महानगरपालिका-२५ सिर्सिया घर भई हाल छोरा सहित काभ्रे जिल्ला स्थित बनेपामा बस्दै आएका अम्जद खानको छोरा अन्दाजी बर्ष १४ को बालक बनेपाबाट पर्सा स्थित घर आउने  क्रममा अचानक बेपत्ता भएकोमा निज बालकले नै प्रयोग गर्ने मोबाईल नम्बरबाट अपहरित बालकको बुबासँग १२ लाख रुपैया फिरौती माग गरी नदिएमा बालकको हत्या समेत गर्ने बारम्बार धम्की दिई रहेकोमा आज मिति २०७६।०७।२० गते अन्दाजी ०१:१५ बजेको समयमा अपहरणकारी मोटरसाईकलमा भारतबाट नेपाल तर्फ बिरगंज महानगरपालिका-२५ सिर्सिया खलवा टोला स्थित अपहरित बालकको बुबासँग फिरौती रकम लिन आउने क्रममा अपहरित बालकको बुबालाई पेस्तोल देखाई झोला खोसी भाग्न खोज्दा तत्काल अपहरणकारी नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली निज अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा लाग्न गई घाईते भएको र अपहरित बालक अज्ञात स्थलबाट शकुसल उद्दार गर्न प्रहरी सफल भएको हो । घाईते अपहरणकारीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ । उक्त १४ वर्षिय बालकको अपहरण जिल्ला पर्सा पोखरीया नगरपालिका-६ सोनवरी बस्ने जोख्खु दासको छोरा अन्दाजी बर्ष २० को राज कुमार दासले गरेको र अपहरणमा संलग्न अन्य २ जना फरार रहेको प्रारंभिक अनुसन्धानबाट खुल्न आएको साथै अपहरणकारी तथा घटनास्थलबाट निज अपहरणकारीले प्रयोग गरेको BR.22J 0803 नम्बरको प्लाटीना मोटरसाईकल थान-१, कटुवा पेस्तोल थान -१ र उक्त कटुवाको चेम्बरमा लोड गरिएको गोली राउण्ड -१, निज अपहरणकारीको पाईन्टको खल्तीबाट उक्त कटुवा पेस्तोलमा प्रयोग हुने गोली राउण्ड थान -४, मोबाईल थान-१ र ब्लुटुथ ईयरफोन थान-१, ब्याग थान-१ सामान बरामद गरी थप अनुसन्धान कार्य भईरहेको  छ ।